सुर्तीजन्य पदार्थमा न्यून कर वृद्धिको आलोचना

सुर्तीजन्य पदार्थमा न्यून कर वृद्धिको आलोचना

सरोकारवाला भन्छन्– यसले प्रयोग बढाउँछ, स्वास्थ्यमन्त्री भन्छन्– कर्मचारीको असहयोगले बढाउन सकिनँ

शिवहरि घिमिरे काठमाडौं

२०८० जेठ १८ बिहीबार ०९:४४:००

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति बर्सेनि वृद्धि भइरहे पनि यसको नियन्त्रणमा सरकार गैरजिम्मेवार देखिएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमा सरकारले सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणको लागि फितलो योजना प्रस्तुत गरेपछि नेपालमा यसले पार्ने असर बढ्न सक्ने सरोकारवालाहरूको ठम्याइ छ ।

आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तावित बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करमा न्यून वृद्धि गरेको छ । अर्थमन्त्रीले वाचन गरेको बजेटमा २.५ देखि चार प्रतिशतसम्म कर वृद्धि गरेको देखिन्छ । अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै जाने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दको भनाइ छ ।

विश्व धूमपानरहित दिवसका अवसरमा एक्सन नेपालद्वारा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा चन्दले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेको अभ्यास झारो टारेजस्तो भएको र यसले धूम्रपानजन्य उद्योगलाई फाइदा पुगेको बताए । ‘यसपटक सरकारको नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थ रोकथामलाई कम प्राथमिकतामा राखेको पाइयो, यसमा कर वृद्धि गरेको भए राजस्व पनि बढी उठ्थ्यो र नियन्त्रणमुखी पनि हुने थियो,’ उनले भने, ‘नयाँ पिँढीलाई यसको प्रयोगबाट बचाउनका लागि सरकारले धूम्रपानमा उल्लेख्य मात्रामा कर वृद्धि गर्नैपर्छ ।’

वार्षिक २७ हजारको जान्छ ज्यान

हाल नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक करिब २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षणअनुसार कुल जनसंख्याको झन्डै २९ प्रतिशतले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा क्यान्सर तथा अन्य जटिल रोगका बिरामीको संख्या पनि बर्सेनि वृद्धि भइरहेको छ । तर, सरकारले सुर्तीजन्य पदार्थलाई नै बढावा दिने गरी नीति अघि सारेको र यसमा कर वृद्धि नगरको आरोप अभिन्यताले लगाउँदै आएका छन् ।

नेपालमा सुर्तीजन्य पदार्थमा लगाउँदै आएको कर दक्षिण एसियामा सबैभन्दा कम कर (३३.२५ प्रतिशत) रहेको छ । कर न्यून भएको भन्दै सरकारलाई कर वृद्धि गर्न अभियन्ताले बजेट निर्माणकै क्रममा झकझक्याएका थिए । एक महिनाअघि द युनियनका क्षेत्रीय निर्देशकसहितको टोलीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेट गरी कर वृद्धि गर्न सुझाव दिएको थियो । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा उल्लेखनीय कर वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन हुन सकेन ।

त्यसो त दुई साताअघि विश्व स्वास्थ्य संगठनको ७६औँ महासभामा सहभागी हुँदै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा करको दर बढाउने प्रतिबद्धता जनाएका थिए । तर, मन्त्री बस्नेतले उक्त विषयलाई गम्भीरताका साथ कार्यान्वयन नगरेपछि सुर्तीजन्य पदार्थमा कर वृद्धिबारे उनीमाथि नै प्रश्न उठेको छ ।

हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन

यस वर्षको विश्व धूमपानरहित दिवसमा विश्व स्वास्थ्य संगठनले ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारा अघि सारेको छ । बुधबार यही नाराका साथ संसारका एक सय ८२ देशले दिवस मनाएका छन् । नेपालमा सुर्तीजन्य पदार्थमा झिनो कर लगाए पनि अन्य देशमा भने सुर्तीजन्य पदार्थमा लगाइने करको दर निकै उच्च रहेको पाइन्छ । सार्क मुलुकभित्र श्रीलंकामा ७७ प्रतिशत, पाकिस्तानमा ६० प्रतिशत र बंगलादेशमा ७३ कर लगाइएको छ । नेपालमा भने ३३ प्रतिशत मात्रै छ ।

मन्त्री बस्नेतले भने कर्मचारी र यसअघिको नीति–नियम फितलो हुँदा कर बढाउन नपाएको बताएका छन् । ‘कर्मचारीतन्त्रको असहयोगका कारण सुर्तीजन्य पदार्थमा कर बढाउन सकिएन । यसअघिका फाइल पनि खोतल्न खोजेँ, तर कतिपय फाइल मेरोसामु आएनन्,’ विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग र काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘अब यसलाई स्कुल तहदेखि नै कडाइ गर्नुपर्छ ।’

काठमाडौं महानगरद्वारा जनचेतनामूलक कार्यक्रम 

काठमाडौं महानगरले पनि विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई सहभागी गराएर सुर्तीजन्य पदार्थ रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । महानगरभित्र रहेका करिब १० वटा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई सहभागी गराएर जनचेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री बस्नेतले विद्यालयवरपर धूम्रपान सेवन र किनबेचमा बन्देज लगाइने बताए । उनले यसअघि नै विद्यालय, सरकारी निकाय, स्वास्थ्य क्षेत्रलगायतमा सुर्तीजन्य पदार्थ रोक लगाइएकाले यसको कडाइका साथ कार्यान्वयन गरिने बताए ।

#सुर्तीजन्य पदार्थ # धूम्रपान निषेध

See more at: https://nayapatrikadaily.com/news-details/115968/2023-06-01