ललितपुरलाई ‘स्मोक फ्रि सिटी’ बनाउने महानगर प्रमुख चिरीबाबु महर्जनको प्रतिवद्धता

ललितपुरलाई ‘स्मोक फ्रि सिटी’ बनाउने महानगर प्रमुख चिरीबाबु महर्जनको प्रतिवद्धता

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मोक फ्रि सिटी बनाउने प्रतिवद्धता जनाएका छन्।

सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा ललितपुर महानगरमा दोस्रो कार्यकालका लागि निर्वाचित प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हेल्दी सिटी बनाउने आफनो अभियान अन्तर्गत यसलाई ‘स्मोक फ्रि सिटी’ बनाइने जनाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द यूनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि आफूले यसअघि नै धेरै भिडभाड हुने स्थान तोकी सो स्थानलाई नो स्मोकिङ जोन भनेर छुट्याइसकेको भन्दै अब यो अभियानलाई दोस्रो कार्यकालमा अझ सशक्त बनाएर लाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यसअघि नै ललितपुरमा नगर प्रहरीहरु परिचालन गरेर सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ नियन्त्रणका कार्यक्रम भइरहेको छ र भोलिदेखि सुर्तीजन्य पदार्थ रहित दिवसको दिन पारेर सुर्तीजन्य पदार्थ विरुद्ध घरदैलो कार्यक्रम गर्दैछौं ।’

उनले नगर प्रहरीहरु घर घरमा गएर नमस्ते गर्दै विनम्रता पूर्वक सुर्तीजन्य पदार्थ सेवन नगरिदिनुस् यसले स्वास्थ्यमा हानी गर्छ भन्ने जनचेतनामूलक कार्यक्रम रहेको समेत जानकारी दिए । नगर प्रमुख महर्जनले वर्षेनी हजारौं व्यक्तिको ज्यान लिने सुर्तीजन्य पदार्थको सेवन नगर्न आफना नगरवासीलाई आग्रह समेत गरे । उनले आफूले सरकारले ल्याएका सुर्तीजन्य पदार्थ नियन्त्रणका कानूनलाई पूर्ण रुपमा कार्यान्वर्यन गर्न सबै निकायसँग सहकार्य गर्ने समेत प्रतिवद्धता जनाए । उनले भने, ‘यो सजिलो काम पक्के छैन् तर कसै न कसैले त सुरुवात गर्नुपर्छ । त्यो आफैबाट सुरु गरौं भनेर आफनो नगरवासीलाई स्वस्थ बनाउन यो अभियान सुरु गर्दैछु। यसमा सबैको साथको आशा गर्दछु ।’

ललितपुर महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रममा यही कुरालाई मनन गर्दै ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुलाई उनको कामको उच्च कदर गर्दै सम्मान समेत गरिएको थियो ।

स्मरण रहोस् नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनका कारण उत्पन्न हुने रोगहरुबाट २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । यसको हानीकाबारेमा जानकारी दिन र सेवन गर्नबाट रोक्नका लागि हरेक वर्ष मे ३१ का दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ ।